जनकपुरधाम।  नेपाल र भारत सीमासँग जोडिएको प्रायः बजारमा नक्कली चुरोट खुलेआम बिक्री वितरण हुने गरेको पाइएको छ।

सूर्य टोबाको कम्पनी नेपाल प्रालिद्वारा उत्पादित खुकुरी र शिखर ब्राण्डका नक्कली चुरोटहरू बजारमा छ्यापछ्याप्ती बिक्री भइरहेका छन्।

नेपाली बजारमा खुकुरी र शिखर चुरोटको बजार निकै ठूलो छ। यसैलाई नक्कल गरी सीमावर्ती भारतीय बजारमा चुरोट बनाएर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिरहा बजारमा बिक्री गरिने गरेको पाइएको हो।

तस्करले खुला सीमाको फाइदा उठाउँदै नक्कली चुरोट बलेकिया (बोर्डरमा अवैध सामान ओसारपोसार गर्ने व्यक्ति) मार्फत सीमाक्षेत्रका बजारमा बिक्री वितरण गरिरहेका छन्।

आन्तरिक राजस्व कार्यालय धनुषाको निर्णयअनुसार धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको नेतृत्वमा खटिएको टोलीले क्षिरेश्वर नगरपालिका-५ महेन्द्रनगर स्थित शंकर जेनरल स्टोर्स र चन्दन किराना स्टोर्समा छापा मारेर गत मंगलबार झण्डै पाँच सय थान (डब्बा) ‘खुकुरी’ लेखिएको  नक्कली चुरोट फेला पारेको थियो।

फेला पारिएको नक्कली चुरोटसहित पसलका सञ्चालक शंकर साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको आन्तरिक राजस्व कार्यालय जनकपुरधामले जनाएको छ।

धनुषामा मात्र हैन प्रदेश २ का ८ वटै जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रमा नेपाली ब्राण्डकै भारतीय नक्कली चुरोटको बिक्री वितरण भइरहेको छ। तर नक्कली चुरोट बिक्री गर्नेलाई अहिलेसम्म कुनै कारबाही भएको छैन।

सरकारले नियम बनाए पनि नियमको कार्यान्वयन हुन नसकेकै कारण नेपाली बजारमा नेपाली ब्राण्डकै भारतीय नक्कली चुरोट बिक्री वितरण अनि कारोबार हुँदै आएको व्यापारीहरू नै बताउने गर्छन्।

प्रदेश २ का सबै जिल्लाको सीमा भारतसँग जोडिएको हुँदा छ्याप्छ्याप्ती रुपमा नक्कली ब्राण्ड बनाएर चुरोटको बिक्री वितरण भइरहेको छ।नक्कली ब्राण्डका सूर्तीजन्य पदार्थ बिक्री र राजस्व छलीसमेत हुने गरेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ।

धनुषा जिल्लाको सीमावर्ती क्षेत्रबाट महीनामा कम्तीमा पाँच करोड रुपैयाँ बराबरको नक्कली चुरोट अवैध रुपमा भित्रिने गरेको दाबी स्वदेशी उत्पादकको छ। अवैध कारोबारीले प्रतिमहीना करिब तीन करोड रुपैयाँ अन्तःशुल्क छल्ने गरेको अनुमान गर्न सकिन्छ।

आव २०७५-०७६ मा अधिकतम ८७ प्रतिशतसम्म र सरदर सबै चुरोटमा ४० प्रतिशतभन्दा धेरैले कर वृद्धि गरिएको थियो। आव २०७६-०७७ मा १० प्रतिशत कर वृद्धि गरिएकाले सोही बेलादेखि एकाएक सूर्तीजन्य पदार्थ (विशेष गरेर चुरोट) को अवैध व्यापार उल्लेख्य बढेको हो।

अत्यधिक कर लाग्ने भएकोले कर छलेर बेचिने यस्ता नक्कली चुरोटमा अधिक नाफा हुने भएकाले अवैध व्यापार बढेको हो।

राजधानीमा छ्याप्पछ्याप्ती पाइने विदेशी कर छलेका चुरोटका अलावा स्वदेशी ब्राण्डका नक्कली चुरोटसमेत तराईका बजारमा पाइन थालेपछि स्वदेशी उद्योग समस्यामा पर्ने मात्र नभई नेपाल सरकारले समेत उल्लेख्य राजश्व गुमाउने देखिन्छ।

उद्योग सम्बद्ध स्रोतका अनुसार गैरकानुनी चुरोटका कारण राज्यले करिब २३० करोड र अन्य गैरकानुनी सूर्तीजन्य पदार्थका कारण बर्सेनि करिब ५७० करोड गरी कुल ८०० करोड बराबरको राजश्व गुमाइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय