काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विभाग प्रमुख भट्टराईले नेकपा (एकीकृत समाजवादी) लाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका हुन्। चितवनमा हुने पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूहरूलाई मात्र बोलाउने उनले बताए।
अवैध सम्बन्ध र गर्भाधारणबाट जन्मिएको एकीकृत समाजवादी पार्टीलाई बोलाइरहनु नपर्ने उनले तर्क गरे। नेकपा (एकीकृत समाजवादी) पार्टीलाई पहिचान र ठेगाना नभएको टिप्पणी गरे।
प्रचार विभाग प्रमुख भट्टराईले भने, “नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई निमन्त्रणा दिने कुरामा एकीकृत समाजवादीको पनि पत्रकार साथीले नाम लिनुभयो, प्रमुख राजनीतिक दलहरूलाई हामीले निमन्त्रणा गर्ने हो, कतिपय राजनीतिक दलको पहिचान र ठेगाना नै स्पष्ट छैन, अवैध सम्बन्ध, अवैध गर्भाधारणबाट बनेका पार्टीहरू छन्, त्यस्ता पार्टीहरूलाई महाधिवेशनमा बोलाइरहनुपर्छ जस्तो लाग्दैन, पहचिान र ठेगाना स्पष्ट भएका प्रमुख राजनीतिक दलहरूलाई यो महाधिवेशनमा आमन्त्रण गरिनेछ।”
प्रचार विभाग प्रमुख भट्टराईले गठबन्धन सरकारका कारण मुलुकमा संविधान मिचिएको र संवैधानिक अंगहरूमाथि हस्तक्षेप भएको बताए। गठबन्धन सरकारले संवैधानिक अंगहरूमा स्वेच्छाचारिताको गम्भीर प्रश्न उठेको बताउँदै शक्तिहरूको स्वार्थमा देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप पनि लगाए।
“आज मुलुकमा राजनीतिक अनिश्चयको स्थिति पैदा भएको छ, संविधान मिचिँदै छ, संवैधानिक अंगहरूमाथि कार्यपालिकाको हस्तक्षेप छ, संवैधानिक अंगहरूमा स्वेच्छाचारी प्रक्रियामार्फत् गम्भीर प्रश्न उठ्न थालेको छ,यो गठबन्धन सरकार बनेपछि, देशलाई यसरी अन्योल माहोलमा राख्नु हुँदैन, अलोकतान्त्रिक, स्वेच्छाचारी, असंसदीय ढंगमार्फत राजनीतिक अस्थिरतातिर मुलुकलाई धकेल्ने प्रयत्न भइरहेको छ शक्तिहरूको स्वार्थमा,” भट्टराईले तर्क गरे।
१० औं राष्ट्रिय महाधिवेशन ऐतिहासिक र भव्य हुने भन्दै उक्त महाधिवेशनमा विधान महाधिवेशन भएको दुई महीनामा भएका ठूला राजनीतिक घटनाबारे पनि पार्टीले स्पष्ट धारणा राख्ने उनले बताए।