वीरगञ्ज, १७ कार्तिक ।

लामो समयदेखि बिग्रिएको वीरगञ्जको घण्टाघर पुनः सञ्चालनमा आएको छ । वीरगञ्ज महानगरपालिकाले धनतेरशको अवसर पारेर घण्टाघर सञ्चालनमा ल्याएको नगरप्रमुख विजय कुमार सरावगीले बताए ।

वीरगञ्जको पहिचानको रुपमा परिचित घण्टाघर आकर्षणको केन्द्रबिन्दु हो । यहाँ धेरैको जमघट गर्ने स्थल पनि घण्टाघर हो । त्यही घण्टाघरको घडी लामो समयदेखि बिग्रिएको थियो ।

झण्डै ६ बर्ष पहिला तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाले नेपाल टेलिकम क्षेत्रीय कार्यालय वीरगञ्जलाई घण्टाघर सञ्चालन गर्न जिम्मा दिएको थियो । टेलिकमले भारतको केरलास्थित टुल एण्ड टाईम इञ्जिनिरिङ कम्पनीसँग घडी जडान र मर्मत सहित संचालनका लागि सम्झौता गरेको थियो । तर, घडी जडान भएपनि सम्झौता अनुसार काम हुन नसकेर घण्टाघरको घडी फेरी बन्द भएपछि महानगरपालिकाको वोर्ड बैठकबाट नेपाल टेलीकमसँग भएको सम्झौता रद्द गरेको थियो । तत्कालीन क्षेत्रीय प्रशासक लक्ष्यबहादुर गुरुङ र स्थानीय जनताको सक्रियतामा वि.स. २०३३ सालतिर घण्टाघर बनेकोे स्थानीयको भनाइ छ । जापानको योनागो सहरका विद्यार्थीले खाजा खर्च कटाएर जम्मा गरेको रकमबाट जापानको प्रख्यात घडी उत्पादक कम्पनी सिकोकोले ४ थान घडी उपहार दिएका थिए ।
जापानको योनागो जेसीजमार्फत काठमाडौं जेसीजले वीरगञ्ज जेसीजलाई घडी हस्तान्तरण गरेका थिए । बनाइसकेपछि ‘वीरेन्द्र प्रभात घडी’ नाम दिइए पनि घण्टाघरको नामले नै परिचित छ ।

वीरगञ्जमा भएका हरेक गतिविधिको साक्षी बन्दै आएको छ, घण्टाघर । समस्या आए पनि घण्टाघरले वीरगञ्जलाई चिनाइरहेको छ । घण्टाघरको व्यवस्थापन र संरक्षणको जिम्मा महानगरपालिकाको काँधमा छ । महानगरपालिकाले व्यवस्थापन र संरक्षणका लागि ५० लाख बजेट समेत बिनियोजन गरेको नगरप्रमुख सरावगीले बताए ।

घण्टाघरको संरक्षणका लागि युवाहरुले पनि सक्रियता देखाउनुपर्ने नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष अनुपत अग्रवालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय