राजबिराज । भोलि सशस्त्र प्रहरीको आइजिपीको जिम्मेवारी सम्हाल्ने प्रतिस्पर्धामा रहेका दुई नम्बर प्रदेशका डिआइजी गणेश ठाडा मगर अहिले आफ्नो कमान्ड क्षेत्रमा तस्करी नियन्त्रणमा छन् । उनी यस प्रदेशमा आएपछिको छोटो अवधिमा झण्डै तीन करोड भन्दा बढीको तस्करीको सामान पक्राउ गरिसकेका छन् । निरीक्षक बाबुराम थापाको कमान्डमा सिभिल टोली परिचालन भएको छ। उनी एसएसपी भएर यहाँ कार्यरत भएको कारणले पनि धेरै अनुभव र सम्पर्क भएकोले सूचनाहरू प्राप्ति भएको कारण तस्करी नियन्त्रणमा सजिलो भएको बताइन्छ । तथापि सिभिलमा खटिएका केही घुमुवाको कारण बिबाद पनि भैरहेको छ। बाहिनीबाट सप्तरीको लागि खटिएका हवल्दार राजकुमार यादव कमान्डको घुमुवा टोलीले रजनीकान्त मण्डल भन्ने रेशमलाल मण्डललाई कुटपिट गरि घाइते बनाएपछि फेरि बिबाद मात्रै होइन उजुरी र गृह मन्त्रालय सम्म कुरा पुगेको छ।चोर होस या तस्कर अथवा अन्य जुनसुकै अपराधमा संलग्न अभियुक्त होस कसैलाई पनि अमानवीय ढंगले कुटपिट गर्न पाइदैन । उसको अपराधको कसुर हेरेर दण्ड सजाय गर्नुपर्छ। तर यहाँ सशस्त्रका घुमुवाहरूले उनलाई कुटपिट गरि घाइते बनाए पछि सशस्त्रका घुमुवाहरूको धेरै आलोचना मात्रै होइन तुरुन्त निलम्बन गर्नुपर्ने आवाज उठेको छ।घुमुवा कमान्डर राजकुमार तिनै व्यक्ति हुन जो धेरै बदनाम भए पछि तत्कालीन डिआइजी सिपी गौतमले आफ्नो कार्यकाल भरि बाहिनीमा ल्याएर थन्काएका थिए। लामो समयदेखि सप्तरीमा घुमुवा भएर बसेका उनी धेरै बदनाम छन् । आइजिपी शैलेन्द्र खनालको कार्यकाल छोटिदै गएको कारणले पनि होला पछिल्ला दिनमा उनको निर्देशन पालना नभएको आभास देखिन्छ ।
सप्तरीको बालनबिहुल गाउँपालिकाका रजनीकान्त मण्डल भन्ने रेशमलाल मण्डललाई सशस्त्र प्रहरीका हवल्दार राजकुमार यादव, सशस्त्र प्रहरी जवान कमलेश यादव र तेजनारायण यादवले मंगलबार बिहान कुटपिट गरी उनको साथमा रहेको २५ हजार रुपैयाँ नगद, मोवाइल खोसेका छन् । मण्डलले आफूमाथि कुटपिट गर्ने सशस्त्र प्रहरीका राजकुमार यादवसहित तीनै जना बिरुद्ध इलाका प्रहरी कार्यालय बोदेबसाइनमा जाहेरी दर्ता गरेका छन् ।सशस्त्र प्रहरीमा कार्यरत राजकुमार यादवसहित तीनै जना प्रदेश २ को छिन्नमस्ता बाहिनीबाट खटिएका डीआइजी गणेश ठाडामगरका घुमुवा भएको खुलेको छ । सशस्त्र प्रहरीको कुटपिटमा परेका मण्डलले प्रहरीमा दिएको जाहेरीमा मंगलबार बिहान ४ बजेको समयमा मोटरसाइकलमा बेल्हीबाट काम विशेषले आफन्तको घर जाने क्रममा बोदेबसाइनमा एक्कासी रोकेर कुटपिट गरेको उल्लेख छ ।
आक्रमणकारीले मोटरसाइकल रोकेर कुटपिट गरी आफ्नो साथमा रहेको २५ हजार रुपैयाँ नगद र मोवाइल खोसेकाले दिलाई पाउँ भनी जाहेरीमा उल्लेख छ ।