पोखरा। मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवर्द्धन गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल, कास्कीसँग सम्झौता गरेको छ।
सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महिला उद्यमी संघ, नेपाल, कास्कीका अध्यक्ष पार्वती कुमारी पौडेल रेग्मीले हस्ताक्षर गरेका हुन्। सम्झौतापश्चात् बैंकले संघसँग आबद्ध उद्यमी महिलालाई आफ्नो व्यवसाय विस्तार गर्न साना तथा मझौला कर्जा एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ।
मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण छिटो छरितो ढंगले कर्जा प्रदान गरिने बताइन्। महिला उद्यमीलाई साना तथा मझौला उद्यमी कर्जाका साथै मेगा सरल कर्जा, लघु, घरेलु तथा साना उद्योग कर्जा र सवारी साधन तथा घर निर्माण कर्जामा पनि प्राथमिकता दिइने उनले बताइन्।
संघकी अध्यक्ष रेग्मीले मेगा बैंकले महिला उद्यमशील कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले बैंकसँग सहकार्य गरेको बताइन्। बैंकले कर्जाका साथ साथै महिला उद्यमीलाई वित्तीय साक्षरता पनि प्रदान गर्दै आइरहेको छ।