काठमाडौं। आरभ सम्राट् हाडा पुरुषतर्फ र सलोनी तामाङ महिलातर्फको गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधि उचाल्न सफल भएका छन्। मंगलबार सम्पन्न फाइनल खेलमा आरभरले ऋतीक राणालाई ६–३, २–६ र ६–१ ले तथा सलोनीले प्रेरणा कोइरालालाई ६–३, ६–४ ले पराजित गदै उपाधि उचालेका हुन्।

गणेशमान सिंह फाउन्डेसनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा भएको प्रतिस्पर्धाको पुरुष युगलतर्फ प्रदीप खड्का र अनिल शाहीको जोडीले बाजी मारे। उक्त जोडीले अकि जुवेन राउत र निहाल जङ्गबहादुर थापाको जोडीलाई ६–४, ७–६ को सेटमा पराजित गर्दै जित हात पारे।
३५ वर्ष माथिको पुरुष युगलतर्फको खेलमा कमलबहादुर भण्डारी र सीमान्त गुरुङको जोडीले उपाधि उचाले। उक्त जोडीले नीरज थापा र लोक गुरुङको जोडीलाई ६–४, १–६ र १०–८ को कठिन जित निकाले। सातदोवाटोस्थित टेनिस कोर्टमा आयोजना भएको प्रतियोगिताको ४५ वर्ष माथिको पुरुष एकलमा सिजर गुुरुङ्गलाइ पछि पार्दै विमलकुमार गुरुङले उपाधि उचाले।

विमलले सिजरमाथि ६–१, ६–१ को समान अन्तरले पराजित गरे। यस्तै युगलतर्फ चन्द्र शाही र देवेन्द्र श्रेष्ठको जोडीले राजु श्रेष्ठ र महेश श्रेष्ठको जोडी माथि ६–२, ६–३ ले जित निकाल्दै उपाधिमा आफ्नो नाम लेखाए।

५५ वर्ष माथिको प्रतिस्पर्धामा भेट्रान खेलाडी कमल थापा र छम्ब धोन्दुपको जोडीले कृष्णराज घले र सुवर्ण धाख्वाको जोडीलाई ६–८, ६–१ र १०–८ ले पराजित गर्दै उपाधि उचाले। करिब २० लाख लागत रहेको प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरूले पदक, प्रमाण पत्र र ट्रफीका साथ पुरुष तथा महिला एकलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ८० हजार, ४० हजार र २० हजार, युगल तर्फका शीर्ष तीनले ४० हजार, २० हजार र १० हजार, पुरुष एकल ३५ वर्ष माथिका शीर्ष तीनले नगद ४०, २० र १० हजार पाए।

युगलले २५, १५ र १० हजार, ४५ वर्ष माथि एकलतर्फका शीर्ष तीनले ३०, १५ र ५, युगलतर्फ २०, १०, १० हजार, ५५ वर्षमाथि एकलले २० हजार, १० हजार र ५ हजार पाए। तथा युगलमा १५ हजार, ७ हजार ५ सय र १० हजार, यस्तै ६५ वर्ष माथि एकलले १५ हजार, ७ हजार ५ सय र ५ हजार प्राप्त गरे। यस्तै जुनियर विधामा विजयी खेलाडीहरू गिफ्ट ह्याम्परबाट पुरस्कृत भए। विजयी खेलाडीहरूलाई नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पुरस्कार वितरण गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय