चितवन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनलाई कुरुक्षेत्र बनाउने धृष्टता नगर्न चेतावनी दिएका छन् । मंगलबार अयोध्या धामको अवलोकनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चितवन पूर्ण रूपमा धार्मिक क्षेत्र भएको टिप्पणी गरे ।
प्रचण्डले कुरुक्षेत्र बनाउने प्रयास गरेको भन्दै ओलीले आपत्ति समेत जनाए । केही दिनअघि प्रचण्डले चितवन राजनीतिक रूपमा क्षेत्र हुने आशयको मन्तव्य दिएका थिए ।
जवाफस्वरुप ओलीले भने ‘‘कुरुक्षेत्र चाहिँ किन बनाउने ? उहिले बैँस सम्झेर कुरूँ क्षेत्रका कुरा गरेर हुन्छ ? प्रचण्डले उहिले एकै पटक बसमा बम पड्काइदिने, ३९ जना तत्काल मर्ने, ६ जना पछि मर्ने, ६९ जना घाइते भएर बाँच्ने त्यही बैँस सम्झेर कुरूँ क्षेत्र बनाउने सोचेको होलान् । अब कुरूँ क्षेत्रसेत्र होइन यो।’’
ओलीले चितवन कुरुक्षेत्र बन्न नसक्ने भन्दै शान्ति र धार्मिक क्षेत्र बन्ने बताए । चितवन पवित्र भूमि र विकास हुने समेत दाबी गरे ।