काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ। प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको उसले सरकारको नेतृत्व दाबी गरेको हो।
सोमबार प्रदेश राजधानी धनगढीमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएको हो। पत्रकार सम्मेलनमा सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले सरकारको नेतृत्व आफूहरुले पाउनुपर्ने बताइन्।
एकीकृत समाजवादीको कात्तिक १० गते धनगढीमा सम्पन्न प्रदेश कमिटीको बैठकले प्रदेश सरकारमा दाबी गर्ने निर्णय गरेको भन्दै ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्न आफूहरुले पाउनुपर्ने शाहले बताइन्।
एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रम शाहीको अध्यक्षतामा बसेको बैठकले सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने गरी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको थियो।
यता कात्तिक १० गते बागमती प्रदेशमा नेकपा एमालेको सरकारलाई विस्थापित गर्दै एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बनेको छ।
यस्तै, हिजै मात्र प्रदेश १ मा नेतृत्व गरिरहेको नेकपा एमालेको सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन्। प्रदेश १ मा पनि एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने निश्चित छ।
सबैतिर गठबन्धनबाट सरकार बनाउने सहमति भएअनुसार प्रदेश सरकारहरुमा नेतृत्व हेरफेर भएको छ। गठबन्धनको सहमतिअनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा माओबादी केन्द्रलाई दिने सहमति भएको भनिए पनि एकीकृत समाजवादीले दाबी गरेको छ।