काठमाडौं। महिला बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री उमा रेग्मीले बालबालिकलाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताएकी छन्। चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताएकी हुन्।
मन्त्री रेग्मीले भनिन्, “विदेशमा यसको परीक्षण भइरहेको छ, परीक्षणको काम सम्पन्न भएसँगै फाइजर र मोडेर्ना नेपालमा पनि आउँछ ।”
खोपको सुनिश्चितता भइसकेको जनाउँदै उनले अब छिट्टै खोप ल्याउनतर्फ सरकार लाग्ने बताइन्। कोरोना संक्र्रमण बढ्न नदिन सबै सचेत हुनुपर्ने उल्लेख गर्दै उनले खोप नलगाएकाले थप सतर्क हुनुपर्नेमा जोड दिइन्।
महिला, बालबालिका र ज्येष्ठ नागरिकको हितमा काम गर्ने विषयमा मन्त्रालयले योजना बनाउन थालिसकेको मन्त्री रेग्मीको भनाइ थियो ।
फरक प्रसंगमा उनले न्यायपालिकालाई विवादमा पार्नु राम्रो नभएको बताइन्। उनले भनिन्, “विवाद मिलाएर अगाडि बढ्नुपर्छ ।”