काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युतको उपयोगमा जोड दिनुपर्ने बताएकी छन्।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा विद्युतीय सवारी र्यालीको उद्घाटन गर्दै मन्त्री भुसालले बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विद्युत्को उपयोग बढाउनुको विकल्प नरहेको बताइन्। मन्त्री भुसालले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आयातमा बर्सेनी ४० अर्ब रुपैयाँ भन्दा बढी रकम बाहिररहेकाले व्यापार घाटा रोक्न विद्युतको प्रयोग बढाउनुपर्ने बताइन्।
उनले उद्योग, यातायात र घरायसी प्रयोजनमा विद्युत्को खपत बढाउन सकिएमा विद्युत् खेर जाने अवस्था नआउने र त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने धारणा राखिन्। मन्त्री भुसालले विद्युतीय सवारी साधनको प्रवर्द्वनलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न विद्युतीय सवारीको प्रयोगलाई बढाउनु पर्ने धारणा राखिन्।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक करीब पाँच सय मेगावाट विद्युत् खेर गइरहेको बताए। उनले खेर गइरहको विद्युत खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्नेमा जोड दिए।
ललितपुरको जावलाखेलबाट शुरु भएको र्याली काठमाडौँका विभिन्न स्थान हुँदै भृकुटीमण्डपमा आएर समापन भएको थियो। र्यालीमा विद्युतीय साइकल, स्कुटर, मोटरसाइकल, ट्याम्पो र कार गरी झण्डै ३ सय सहभागी थिए।