बाँके। कोहलपुरमा नेपाल प्रहरीले चितुवाको छाला र हड्डीसहित ३ जनालाई पक्राउ गरेको छ। कोहलपुर नगरपालिका-११ स्थित सागर गेष्ट हाउसको कोठा नम्बर २०५ बाट १ थान चितुवाको छाला र १ किलो ४० ग्राम हड्डी शुक्रबार साँझ प्रहरीले ३ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा राप्ती सोनारी गाउँपालिका-९ ढकेरीका ३५ वर्षीय हिरासिंह विक तथा सुर्खेत पंचपुरी नगरपालिका-७ का २४ वर्षीय रमेश बयक र २८ वर्षीय बसन्त बिसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ।
चितुवाको छाला ओसारपसार भइरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले होटलमा बसेका उनीहरूलाई उक्त छाला र हड्डीसहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।