काठमाडौं। २०६६ सालमा निवारण घोषणा गरे पनि नेपालमा कुष्ठरोगीको संख्या बढ्न थालेको छ। सबै जिल्लामा कुष्ठरोगको प्रकोपदर प्रतिदश हजार जनसंख्यामा एक जनाभन्दा कम गर्ने लक्ष्य नेपालले सन् २०२० का लागि राखेको थियो।
तर त्यो लक्ष्य पूरा भने हुन सकेको छैन। स्वास्थ्य सेवा विभागका कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रमुख डा. रवीन्द्र बास्कोटाका अनुसार सरकारले कुष्ठरोग निवारण गर्यो भनेर घोषण गरे पनि यो समस्या ज्युँकात्यूँ छ। “गत वर्ष देशभर कोभिड महामारी फैलिरहेको अवस्थामा पनि दुई हजारको हाराहारीमा नयाँ कुष्ठरोगका बिरामी पत्ता लागेका थिए,” उनले भने।
संक्रमण फैलिएको हुँदैनथ्याे र बिरामी खोज्न केही सहजता हुन्थ्यो भने अझै धेरै बिरामीहरू पत्ता लाग्ने उनले बताए। तराईका जिल्लाहरूमा अझ बढी कुष्ठरोगीको संख्या बढिरहेको पनि उनले बताए। पहाडी र हिमाली भेगमा भने बिरामीहरू नभेटिएका उनको भनाइ थियो।
उनका अनुसार सबैभन्दा बढी कुष्ठरोगी बिरामी र प्रभावित क्षेत्र भनेको प्रदेश २ हो। त्यसैगरी कम कुष्ठरोगी बागमती प्रदेशमा रहेका पनि उनले बताए। कुष्ठरोग निवारण जिल्ला भनेर १० वटालाई घोषण गरिएको उनले जानकारी दिए।
‘कुष्ठरोगीलाई हामीले दुई भागमा विभाजन गरेका छौं,” उनले भने, “एउटा कुष्ठरोगी हुन्छ भने अर्को कुष्ठप्रभावित व्यक्ति हुन्छ।” प्रभावित भन्नाले कुनै बेला कुष्ठरोग लागेर औषधि खाएपछि निको भइसकेको तर त्यसको प्रभाव भने परिहने व्यक्तिलाई जनाउँछ। त्यसमा कुष्ठरोगले अपांग हुन पुगेका व्यक्तिहरू पनि जोडिएका हुन्छन्।
डा. बास्कोटाका अनुसार नेपालमा कुष्ठरोग प्रभावित हुनेको संख्या करीब दुई लाख हाराहारी छ।
प्रभावितमध्ये कोही निको भएर आफ्नो दैनिकीमा फर्किसकेका छन् भने केही सामाजिक विभेद, गरिबी, अनेकौं लाञ्छनाका डरले पुन:स्थापना केन्द्रमै राखिएको छ। प्रभावितमध्ये अपांगता हुने संख्या भने ३५ हजार रहेको उनले जानकारी दिए।
त्यस्तै, औषधि खानेको संख्या दुई हजार हाराहारीमा रहेका पनि उनले बताए। सरकारले नै कुष्ठरोग पीडितलाई बेवास्ता गरेको उनको आरोप छ। कुष्ठरोग निवारणमा बजेट नै धेरै कम छुट्याएकाले समस्या आइरहको उनको भनाइ छ।
कुष्ठरोग निवारणका लागि सरकारबाट भएका पहल
२०६६ सालमा निवारण गरे पनि नेपाललाई गत वर्ष फेरि कुष्ठरोगमुक्त घोषणा गर्ने भनिएको थियो। तर त्यो सफल हुन सकेन। पुनः नयाँ योजना ल्याएर प्रभावकारी तरिकाले काम भइरहेको शाखा प्रमुख डा. बास्कोटा बताउने गर्छन्। उनका अनुसार अब सरकारको लक्ष्य नयाँ बिरामी संख्या शून्यमा झारिने छ।
शुरु कुष्ठरोगले दुःख नदिने भएकाले बिरामीहरू अस्पताल नजाने तर लामो समयपछि यसले दुःख दिएपछि भने सामाजिक तिरस्कार उनीहरूले सहनुपरिरहेको उनी तर्क गर्छन्।
विभागले स्वाथ्यकर्मीको टोली नै गाउँगाउँ पठाएर परीक्षण गर्ने र सक्रिय बिरामीको खोजी गर्ने कामलाई बढाएको उनले बताए। एक महिनाअघि बारा जिल्लाका चार वटा पालिकामा एक हप्ताको कार्यक्रम गर्दा ४२ जना नयाँ कुष्ठरोग बिरामी भेटिएका पनि उनले जानकारी दिए।
तर सक्रिय बिरामीको खोजी कार्य स्वाथ्यकर्मीबाट गर्नुपर्ने भएकाले यो अलि महँगो पर्न गएकाले सोचे जति तीव्र गतिमा सञ्चालन हनु नसकेको पनि उनले स्वीकार गरे। समुदायमा स्वास्थ्यकर्मी कुष्ठरोगी खोज्न जाँदा पनि मानिसहरूले समाजको लाज डरका कारण परीक्षणका लागि तयार नभएकाजस्ता समस्या देखिने उनी बताउँछन्।
उनी थप्छन्, ‘‘हामी कुष्ठरोग परीक्षणका लागि आएका हौं भन्यो भने त घरको ढोका नै बन्द गर्छन्।” कुष्ठरोग निवारणका लागि जनचेतनामूलक कार्यक्रम पनि गरिहेको र कन्ट्याक ट्रेसिङको काम पनि गरिएको उनले बताए।
सार्न सकिने कुष्ठरोगको सम्पर्कमा आएका व्यक्तिहरूलाई सरकारले पाँच वर्षदेखि रिफामपिसिन नामक औषधि खुवाइरहेको छ। विदेशतिर भएको अध्ययन अनुसन्धानले यसको प्रभावकारिता ६० प्रतिशत रहेको बताएको छ तर नेपालमा यसको प्रभावकारिता कति छ भनेर अनुसन्धान हुन बाँकी रहेको उनी बताउँछन्।
नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीका साथै पोषण केन्द्रहरूमा कुष्ठरोगको औषधि निःशुल्क पाइन्छ। हाल नेपाल सरकारले उपचार पूरा गरेका तथा विशेष सेवाको लागि अस्पतालमा भर्ना हुँदा यातायात खर्चस्वरुप एक हजार रुपैयाँ उपलब्ध गराइरहेको छ।
के हो कुष्ठरोग?
मानव सभ्यताको सबैभन्दा पुरानो रोग भनेर कुष्ठरोगलाई लिने गरिन्छ। कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो। यो रोगले खास गरेर काला स्नायु (नशा) मा असर गर्दछ।
यो रोग प्राचीन कालदेखि नै मानिससँग परिचित भए पनि सन् १८७३ मा मात्र नर्वे देशका वैज्ञानिक डाक्टर जिए ह्यानसनले कुष्ठरोग किटाणुको कारणले हुने रोग हो भनी पत्ता लगाएका थिए।
यस रोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखापर्नुका साथै स्नायुहरूमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने हुन्छ र विस्तारै यस रोगले मांसपेशीहरू कमजोर बनाइदिन्छ। त्यस्तो छोएको थाहा नपाउने भागमा साधारण चोटपटक लाग्दा पनि छिटो निको हुँदैन।
कुष्ठरोगका लक्षण
शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखापर्नु, अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु, विस्तारै हातखुट्टाका औंलाहरू कमजोर हुनु, र खुम्चँदै जानु, अपांगता हुनु, स्नायुमा असर पर्न जाँदा हात खुट्टाहरू लगातार झमझम गर्नु।
कुष्ठरोगको उपचार दुई प्रकारले गर्ने गरिन्छ। एउटा ६ महिना र अर्को एक वर्षसम्म औषधि खाने गर्नुपर्छ।
कुष्ठरोग लागेका व्यक्ति जसको शरीरमा किटाणुहरू, दागहरू धेरै छन् र जसले अरुलाई छिट्टो सार्न सक्छन् त्यस्ता बिरामीहरूलाई १२ महिनासम्म औषधि सेवन गर्नुपर्ने उनले बताए।
कुष्ठरोग लागेर समयमै उपचार पाउन सकेनन् भने अपांग पनि हुन सक्छन्। यो रोग जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई पनि लाग्न सक्छ तर विशेषगरी १५ वर्षमाथिका उमेर समूहहरू बढी जोखिममा देखिन्छन्।
(यसअघिको शीर्षक सच्याइएको छ)