काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएका २३ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। आज हस्तान्तरण गरिएका २३ मध्ये १५ ओटा मोटरसाइकल र ८ ओटा स्कुटर रहेको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले बताए।
उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्न ट्राफिक प्रहरीले बिशेष टोली परिचालन गरेको छ। सवारी धनीले ट्राफिक महाशाखामा दिएको हुलिया निवेदनका आधारमा टोलीले मोटरसाइकल खोजतलास गरि सम्बन्धित धनीलाई बुझाउने गरेको छ भने चोरीमा संलग्नहरुलाई नियन्त्रणमा लिई कारबाही गर्दै आएको छ।
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले हराएका मोटरसाइकल खोजतलास एवं चोरी नियन्त्रण गर्न निरन्तर लागिपरेको बताउँदै मोटरसाइकल हराउनै नदिनको लागि सवारी धनी नै सजक एवं जिम्मेवार हुनुपर्ने बताए।
मोटरसाइकल चोरीमा संलग्न १९ जनालाई सम्बन्धित प्रहरी वृत्तहरुमा कारबाहीको लागि पठाएको महशाखाले जनाएको छ।
यस आर्थिक वर्षमा हराएका ३८७ मोटरसाइकलमध्ये १७१ ओटा नियन्त्रणमा लिएकोमा १६८ ओटा सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ।