काठमाडौं। स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफूले पनि कोरोना बीमा नपाएको बताएका छन्। बिहीबार स्वास्थ्य पत्रकार मञ्चसँगको भेटघाटमा स्वास्थ्यमन्त्री खतिवडाले बीमा भुक्तानी नपाएको बताएका हुन्।

‘‘कोरोना बीमा मैले पनि पाएको छैन, घरमा दुई जना बुढाबुढीले सँगै दाबी गरेको बुढीले पायो बुढोले पाएन,” उनले भने। धेरैले कोरोना बीमा नपाएको विषयमा बोल्दै उनले यस्तो बताएका हुन्। अगाडि उनले भने, ‘‘एकै दिन एकैपटक दाबी गरेको, पाउनेले किन पाए नपाउनेले किन पाएनन् भन्ने थाहा छैन। फाइल माथि परेर पाएको हो कि!”

धेरैबाट कोरोना बीमा नपाएको गुनासो आएको बताउँदै उनले आफूले यसबारे बुझ्दा सक्ने भन्दा चार गुणा बढी दाबी आएकाले कम्पनीहरूले भुक्तानी गर्न नसकेको बताइएको जानकारी दिए। ‘‘हुँदै नभएको, भएको पनि २ दिन मात्र अस्पताल बसेकोले पनि १३ दिन देखाएर दाबी गर्या भएर दिन सकिएन भनिराछ, हो कि जस्तो लाइराछ,” उनले बताए।

राम्रो उद्देश्यले कोरोना बीमा शुरु गरिएको भएपनि दुरुपयोग बढेको उनले बताए। सरकारको पैसा पाएको बेला लगिहालौँ भन्ने मानसिकताले बिरामीले तीन दिन अस्पताल बसेर आईसीयुमा बसेको बिल बनाएको आरोप उनले लगाए।

बीमा समितिले २०७७ साउन १ गतेदेखि लागू हुने गरी कोरोना बीमाका लागि निर्देशिका बनाएको थियो। तर अपेक्षाभन्दा ठूलो संख्यामा कोरोना फैलिएपछि भुक्तानीमा जटिलता पैदा भएको थियो।

कोरोना बीमा मापदण्डमा ३ अर्ब ५० करोड रुपैयाँ बढीको दाबी भुक्तानी सरकारले ब्यहोर्ने भएकाले सोही अनुसार बीमा भुक्तानी सरकारबाट हुनुपर्ने समितिले बताउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय