बैतडी। महाकाली नदीमा डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।
मृत्यु हुनेमा शिवनाथ गाउँपालिका-१ की १३ वर्षीया मीना साउद रहेकी छन्। यस्तै शिवनाथ-१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
महाकाली नदीस्थित शिवनाथ-१ खाँडघाटमा बुधबार साँझ १० जना सवार डुंगा दुर्घटनामा परेको हो। दुर्घटनामा परी मीना र सन्दीप बेपत्ता रहेकामा मीनाको शव आज बिहान साढे सात बजे महाकाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बेपत्ता सन्दीपको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका छन्।
डुंगामा सवार अन्य आठ जना सकुशल रहेका प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको बताइएको छ।