काठमाडौं। सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले संविधानको रक्षा गरेका न्यायाधीशहरुको राजीनामा माग्नु जायज नहुने बताएका छन्। कैलालीमा समाजवादी पत्रकार संगठनको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले संविधानको रक्षाका लागि विघटित संसद ब्यूँताउने फैसला गरेका न्यायाधीशहरको राजीनामा माग्नु जायज नभएको बताए। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामालाई लिएर अहिले विवाद छ।

सोही विवादलक्षित रहेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ९ कात्तिकमा पार्टीको पालिकास्तरीय अधिवेशन उद्घाटनमा संसद उल्टाउने पाँचैजना न्यायाधीशको राजीनामा मागेका थिए। सोही विषयमाथि टिप्पणी गर्दै अध्यक्ष नेपालले संविधान र संसद जोगाएका न्यायाधीशहरुको राजीनामा माग्न नहुने बताए।

ओलीले प्राणाली भत्काउने मनशायबाट न्यायाधीशहरुको राजीनामा मागेको भन्दै नेपालले यस्तो कुरा जायज नभएको बताए। लोकतन्त्र र व्यवस्था जोगाउन न्यायाधीशहरुले ऐतिहासिक फैसला गरेको भन्दै नेपालले उनीहरुको राजीनामा माग्न नहुने बताए।

सँगसँगै अध्यक्ष नेपालले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा गठबन्धन प्रवेश नै नगरेको स्पष्ट पारे। उनले भने, “पाँच दलको बैठक बस्न सकेको छैन, यसबारे अनि मात्र थप कुरा भन्न सकिन्छ ।”

फरक प्रसंगमा अध्यक्ष नेपालले अहिले सत्ता गठबन्धनमा रहेका दलसँग पार्टी एकता नहुने प्रष्ट पारे। उनले आउँदो निर्वाचनमा अहिलेका गठबन्धन दलहरुको सहकार्य हुने तर कुनै पार्टीसँग एकता नहुने स्पष्ट पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय