काठमाडौं। चितवन भरतपुरमा कुटपिटबाट हत्या भएका भीमबहादुर विश्वकर्माको घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने भन्दै जनता समाजवादी पार्टी (जसपा)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
बिहीबार काठमाडौंको माइतिघरमा जसपाको जनता समाजवादी दलित मुक्ती संगठन र जसपा नेपाल शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिले भीम बहादुर विश्वकर्माको न्यायका लागि खवरदारी स्वरुप विरोध प्रदर्शन गरेको हो। विरोध प्रर्दशनमा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सहभागी भएका थिए। प्रदर्शनकारीहरूले ‘भीम बहादुरका परिवारलाई न्याय दे’, ‘अपराधीलाई कारबाही गर्’ लगायतका नारा लगाएका थिए।
जातीय विभेद गरी मारिएको भन्दै विश्वकर्मामा हत्यारालाई हदैसम्मको कारबाही, पीडित परिवारलाई न्याय र देशमा भएका सबै प्रकारको जातीय विभेद अन्त्य हुनपर्ने माग पनि उनीहरूले गरेका छन्।
गत असोज २८ गते चितवनको भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको दुर्गा मन्दिरमा पुजाका विषयमा कुटपिट हुँदा मृत्यु भएको बताइएको छ।