काठमाडौं। निरन्तर खराब प्रदर्शन गर्दै आएको स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ। लालिगामा टोलीले लगातार खराब प्रदर्शन गरेपछि बार्सिलोनाले प्रशिक्षक कोम्यानलाई हटाएको हो।
लालिगा अन्तर्गत गएरातिको खेलमा रायो भालोकानोसँग १-० ले पराजित भएसँगै बार्सिलोनाले प्रशिक्षक कोम्यानलाई हटाएको हो। कोम्यान १४ महीना बार्सिलोनाको टोली सम्हालेर बिदा भएका छन्।
अगस्ट २०२० मा कोम्यान बार्सिलोनाको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए। टोली सम्हालेपछि ५८ वर्षीय कोम्यानले बार्सिलोनाको खेलमा निकै सुधार ल्याउने योजना सार्वजनिक गरेका थिए।
तर, डच प्रशिक्षक कोम्यानको नेतृत्वमा बार्सिलोनाले लगातार खराब नतिजा निकालेको छ। बार्सा अहिले लालिगाको नवौँ स्थानमा रहेको छ। कोम्यानको आगमनपपछि बार्सिलोनाका आइकोनिक खेलाडी लियोनल मेस्सी फ्रान्सको पीएसजी पुगेका छन्।