पाकिस्तानी पूर्व क्रिकेटर शोएब अख्तर त्यहाँको सरकारी टेलिभिजनमा प्रसारित ‘गेम अन हे’ कार्यक्रममा अपमानित भएका छन्। न्युजिल्याण्ड र पाकिस्तानबीचको खेलको विश्लेषण गरिरहँदा अख्तरको विदेशी पाहुनाहरुकाबिच अपमान भएको हो।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा अख्तार पाकिस्तान सुपर लिगका लाहोर कन्दहर्सको तारिफ गर्दै शाहीन शाह अफ्रीदी, हरिस रउफजस्ता क्रिकेटर उत्पादन भएको भन्दै प्रशंसा गरिरहेका थिए। कार्यक्रम होस्ट गरिरहेका नोमान रियाज त्यतिकैमा भड्किए र भने, ‘तिमी थोरै असभ्य छौ। म यो भन्न चाहँदिन थिएँ। तर धेरै स्मार्ट बन्नुछ भने यहाँबाट गए हुन्छ।’

उनको कुरा सुनेर अख्तर अचम्मित हुन्छन्। तनाव बढ्दै गएपछि नोमानले ब्रेकको घोषणा गर्छन्। ब्रेकपछि फेरि कार्यक्रम सुरु त हुन्छ तर तनाव कम हुँदैन। अख्तरले स्थितिलाई सम्हाल्ने पनि प्रयास गर्छन् तर स्थिति नियन्त्रण बाहिर गएपछि उनी शो छाडेर बाहिरिन्छन्।

माइक निकाल्दै अख्तरले भन्छन्: मलाई धेरै खेद छ। म पीटीभीबाट राजीनामा दिँदैछु। राष्ट्रिय टीभीमा म माथि जस्तो व्यवहार गरिएको छ, त्यसलाई हेर्दा मलाई लाग्छ अब अझ अरु होइन। त्यसैले म जाँदैछु। धन्यवाद।’

त्यसपछि अख्तर बाहिरन्छन र नोमन कार्यक्रमलाई निरन्तरता दिन्छन्।

यो प्रकरणपछि अख्तरले सामाजिक सञ्जालमा एउटा भिडियो राखेका छन्।

‘पीटीभीमा एउटा अप्रिय घटना भएको छ। मलाई थाह छैन नोमानले किन यसो गरे। उनले केही भनेनन् र ब्रेकमा गए। राष्ट्रिय टीभीमा राष्ट्रिय स्टारलाई अपमानित गरियो। मलाई अपमानित गरेर ब्रेकमा गए,’ अख्तरले भिडियोमा भनेका छन्,’त्यसपछि मैले सोचेँ सबै सुपरस्टारहरु बसेका छन्। विदेशीहरु बसेका छन्। के छबि जाला? त्यसैले मैले नोमनसँग उनले मसँग जस्तो व्यवहार गरे त्यो क्लिप भाइरल हुने बताएँ।’

उनको व्यवहारका लागि माफी माग्न भन्दा अस्वीकार गरेपछि आफूले कार्यक्रम छाडेर बाहिरिएको अख्तरले जारी गरेको भिडियोमा भनेका छन्। उनले अगाडि भनेका छन्: मसँग त्यहाँबाट निस्कने बाहेकको विकल्प थिएन।

नोमानको कामलाई लिएर पाकिस्तानमा उनको आलोचना भइरहेको छ। पूर्व क्रिकेटर रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई नोमानलाई टेलिभिजनबाट निकाल्न भन्दै सामाजिक संजालमा माग भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय