
काठमाडौं– जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनस्वास्थ्यमा प्रतिकूल असर हुने खालका कुनै पनि खाद्यवस्तुको बिक्रीवितरण नगर्न व्यापारीहरुलाई निर्देशन दिएको छ।
बुधबार नक्सालस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गर्न गएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसी नेतृत्वको अनुगमन टोलीले वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोकेको मापदण्ड अनुसारमात्रै खाद्य वस्तुहरुको बिक्रीवितरण गर्न व्यापारीहरुलाई सचेत गराएको हो।
जनस्वास्थ्यलाई ख्याल गरेर मात्रै खाद्यवस्तुहरुको बिक्रीवितरण गर्न व्यापारीहरुलाई सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए।
अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको खाद्यस्टोरलाई पनि खाद्यवस्तुहरुको उत्पादन मिति र लेबलिङ मिति स्पष्ट देखिने गरी राख्न निर्देशन दिएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले चाडपर्वको अवसर पारेर बजार अनुगमनको कामलाई तीव्रता दिइएको स्पष्ट पारेको छ। अनुगमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधि र वाणिज्य विभागका प्रतिनिधिहरु पनि सहभागी भएका थिए।